२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदीय समितिका सभापतिले मासिक लाखौं थाप्छन् तलब–भत्ता, राज्यमन्त्री सरहको बरियता

काठमाडौं । लामो समयदेखि रिक्त रहेको विभिन्न १० समितिले पूर्णता पाउँदैछ । विषयगत समितिको सभापति चयनका लागि आज ३ बजे निर्वाचन हुँदैछ । १० समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । ९ समितिमा सर्वसम्मत सभापति निर्वाचित हुनेछन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि भने निर्वाचन हुनेछ । यसको नेतृत्वका लागि जनमत र रास्वपाले उम्मेदवारी दिएका छन् । संसदीय समितिको सभापति बनेपछि उनीहरूले के कति सुविधा पाउँछन् भन्ने सबैका लागि चासोको विषय बनेको छ । बरियताक्रम के हुन्छ ? जान्न इच्छिुक हुनुहुन्छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसार सभापति निर्वाचित वा मनोनयन भएको मितिदेखि १० वटै समितिका सभापतिले मासिक पारिश्रमिक ६० हजार नौ सय ७० रुपैयाँ पाउने छन् । यति मात्रै नभएर निर्वाचित सभापतिले प्रतिमहिना विशेष भत्ता एक हजार पाउने छन् । सभापतिलाई समिति बैठकमा भाग लिएको प्रत्येक दिनको लागि बैठक भत्ता बापत एक हजार दिइने छ । तर, समितिको बैठक वा सदन एकै दिन बसेमा पदाधिकारी र सदस्यले एक दिनको मात्र भत्ता पाउनेछन् । सदन र समितिको बैठक बापत छुट्टा छुट्टै भत्ता दिइने छैन ।

संघीय संसद्को कुनै सदनको बैठक वा अधिवेशन नभएको अवस्थामा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिने पदाधिकारी वा सदस्यलाई बैठक सुरु हुनु भन्दा तीन दिन अघि देखि र बैठक अन्त्य भएको तीन दिन पछिसम्म प्रत्येक दिनका लागि अनुसूची एक बमोजिम भत्ता दिइनेछ । समितिको बैठकमा भाग लिन आउँदा जाँदा लाग्ने खर्च भत्ता पदाधिकारी र सदस्यलाई दफा नौ बमोजिम दिइनेछ । त्यस्तै सभापतिले आफ्नो कार्यकालभरका लागि ११ जना कर्मचारी सुविधा पाउँछन् ।

जसमा राजपत्राङ्कित द्वितिय अर्थात् उपसचिव सरहको एक जना स्वकीय सचिव राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् सुब्बा सरहको कम्प्युटर अपरेटर, सवारी चालक दुई जना, कार्यालय सहयोगी एक जना, अंग रक्षक प्रहरी सहायक निरीक्षक (असई) एक जना, प्रहरी हवल्दार एक जना र प्रहरी जवान एक जना हुनेछन् । सभापतिलाई कार्यकालभरको लागि आवश्यक फर्निचर र प्रिन्टर सहितको कम्प्युटर एउटा र एउटा साइकल उपलब्ध गराइनेछ । त्यसरी उपलब्ध गराइएको फर्निचर र मालसामान आफ्नो कार्यकाल समाप्त भएपछि फिर्ता बुझाउनुपर्नेछ ।

निजी सचिवालयका लागि कार्यालय सञ्चालन र मसलन्द तथा अतिथि सत्कारको लागि सभापतिलाई अतिथि सत्कारबापत प्रतिमहिना एक हजार ७०० रुपैयाँ उपलब्ध गराइनेछ । त्यसैगरि ऐनको दफा ६ अनुसार सभापतिलाई आवासको लागि सरकारको तर्फबाट सरकारी घरको बन्दोबस्त गरिनेछ । उपत्यकाबाहिरकालाई आवास सुविधाबापत मासिक २५ हजार ६०८ रुपैयाँ उपलब्ध गराइनेछ भने काठमाडौंमा घर हुनेलाई १२ हजार मर्मत सम्भार खर्च दिइनेछ । आवास सुविधा बापत रकम उपलब्ध गराइएकोमा सभापतिलाई निजी सचिवालय तथा गार्ड घर बन्दोबस्त गर्न प्रति महिना एक हजार ७५० रुपैयाँ पाउनेछन् । त्यसैगरि सवारीसाधनसहित प्रतिमहिना २ सय लिटर इन्धन र त्रैमासिक पाँच लिटर मोबिल सभापतिलाई प्रदान गरिनेछ । त्यसका लागि सभापतिले प्राप्त गरेको इन्धन र मोबिल बिल भौचर बुझाउनु नपर्ने व्यवस्था छ । ससदीय समितिका सभापतिलाई राज्यको नवौं बरियतामा राखिएको छ । राज्यमन्त्री, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु बराबरको हैसियतामा समिति सभापतिको बरियता छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस