२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेलाई कालिकामा स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति दिइएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति दिइएन । नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे पनि नगरपालिकाले कानून नभएको भन्दै क्लिनिक सञ्चालन गर्न स्वीकृत नदिएको हो ।

लामिछानेले २०८० साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति माग गर्नुभएको थियो । तर, नगरपालिकाले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको जनाएको छ ।

साथै, नगरपालिकाले विषेशज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति पालिकासँग नभई प्रदेशबाट लिन लामिछानेलाई सुझाएको छ । नगरपालिकाले लामिछानेलाई लेखेको पत्रमा प्रदेश जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको उल्लेख गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले अहिलेको विद्यमान कानूनले धुम्ती शिविर सञ्चालन गर्न पालिकाले नसक्ने भएकोले अनुमति नदिइएको बताउनुभयो । यद्यपि, सांसदले प्रदेशबाट अनुमति लिए आफूहरुले सहजीकरण र समन्वय गर्न सक्ने उहाँको भनाइ छ । शिविरको डिटेल कार्यक्रमसहित चिकित्सकहरुको विवरणसमेत माग गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिनुभयो । ‘शिविर गर्ने भनेपछि सबै विवरण चाहियो, भोलि कुनै ठाउँको शिविरमा कुनै घटना भए के गर्ने सबै आधारहरु हेर्नुपर्ने हुन्छ,’ उपाध्यायले भन्नुभयो, ‘शिविर गर्ने चिकित्सकहरुको विषेशज्ञ, मेडिकल काउन्सिल दर्तालगायतका विषय पनि पालिकाको जानकारीमा हुनुपर्छ ।’

उहाँले पालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर जिल्लाका ठूला अस्पतालहरुले शिविर सञ्चालन गरे पनि अरुलाई भने अनुमति नदिइएको उहाँले बताउनुभयो । चितवन २ बाट जित्नुभएका सांसद लामिछानेले निर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा गत साउन १६ गतेदेखि निर्वाचन क्षेत्रमा मोवाइल स्वास्थ्य क्लिनिक चलाउँदै आउनुभएको छ । पुरानो मेडिकल कलेजले उपलब्ध गराएको भारतले दिएको एम्बुलेन्सको रंग परिवर्तन गरेर मोवाइल स्वास्थ्य क्लिनिक चलाउनुभएका लामिछाने विवादमा परेपछि अहिले अर्को एम्बुलेन्स लिएर क्लिनिक चलाउँदै आउनुभएको छ । पुरानो मेडिकल कलेजकै स्वास्थ्यकर्मीहरुको टिम लिएर उहाँले भरतपुर महानगरपालिकाका विभिन्न वडा स्वास्थ्य क्लिनिक चलाउँदै आउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस