२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीमा फेरि एमालेको नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भन्नुभयो, ‘अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। सरकार मज्जाले चल्छ।’

कोशीमा अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ। एमालेसँग उपसभामुखसहित ४० सांसद हुनुहुन्छ । एमालेलाई साथ दिइरहेको राप्रपाका छ सांसद हुनुहुन्छ । मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेको छ। यहीबेला ओलीले एमाले सरकार बन्ने दाबी गर्नुभएको छ । कोशीमा नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको पनि ओलीले बताउनुभयो । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताउनुभयो ।

‘माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर गएको थियो’, उहाँले भन्नुभयो, ‘अहिले पनि मानेको छैन। तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ।’ गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उहाँले आरोप लगाउनुभयो । उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे–जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस