२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार बढ्न थाल्यो नेप्से, के अब सेयर लगानीकर्ताका दिन आएकै हुन् ?

काठमाडौं । सेयर बजारमा लगातार ओरालो लागेर मार खेपेका लगानीकर्ताहरुमा खुशी आउन थालेको छ । आज दोस्रो दिन पनि नेप्से वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.४७ अंकले वृद्धि हुँदा २०४५.४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।

गत सोमबार २ महिनापछि २ हजारको विन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो । मौद्रिक नीतिपछि निराश लगानीकर्ता १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बढ्दा थप निराश भएका थिए । जसले गर्दा मौद्रिक नीति सार्वजनिक भएको ७ साउनमा २२२७ को विन्दुसम्म पुगेको नेप्सेमा करिब २३० अंकको गिरावट भयो ।

तर, मंगलबारदेखि भने नेप्से पुनः बढ्न सुरु भएको छ । नेप्सेको सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर क्षेत्रले सोमबार बजारलाई लिड गरेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.७४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.१६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले वृद्धि भएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यो साताको लगातार ३ कारोबार दिन डेढ अर्बबाट तल झरेको कारोबार रकम बुधबार भने बढेर डेढ अर्ब नाघेको छ । अब कही समय लगातार सेयर बजार उकालो लाग्ने सेयर बजार पण्डितहरुको दावी छ ।

बुधबार नेप्सेमा ४४ हजार ३४० वटा कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५१ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५८ लाखको कारोबार हुँदा सोल्टी होटलको ७ करोड ६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाखको सेयर कारोबार भएको छ । बुधबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकामध्ये कुथेल बुखारी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै ग्लोलब आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.६४ प्रतिशतले बढ्दा सेयरमूल्य धेरै बढ्ने कम्पनीको शिर्ष ५ मा लिवर्टी इनर्जी, दोल्ती पावर र मायाखोला हाइड्रोपावर कम्पनी छन् । बुधबार सेयरमूल्य बढेन शीर्ष कम्पनीमा हाइड्रोपावर कम्पनीहरु अगाडि छन् । नेप्से करिब डेढ प्रतिशतले बढ्दा पनि जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ३.५२ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य २.४६ प्रतिशतले गिरावट भएको छ । यी दुई कम्पनी धेरै गुमाउनेमा परेका छन् ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस