२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको बुद्धनगरमा भैंसी आतंक, पक्रिन प्रहरी परिचालन : यसअघि ३ वटालाई गोली हान्नु परेको थियो

काठमाडौं । राजधानी काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । भैंसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सन्चालकहरु पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेको देखिन्छ ।

नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले यो भैंसी कहाँबाट आयो भन्ने यकिन नभइसकेको र कसैलाई आक्रमण गर्न सक्ने भएकाले निगरानीमा राखिरहेको जानकारी दिनुभयो । ‘घाँटीमा दाम्लो झुण्डिएको छ । भैंसी आतंकित जस्तो देखिन्छ, यताउता दौडिरहेको छ,’ डीएसपी श्रीवास्तवले भन्नुभयो, ‘नाक पनि छेडेको रहेनछ । नाक छेडेको भए पकड्न सजिलो हुन्थ्यो । हामीले अहिले यसलाई वाच मात्र गरिरहेका छौं ।’

अहिले उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ । आज बिहानै बुद्धनगरमा एउटा भैंसी अनियन्त्रित अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बुद्धनगर र नयाँबानेश्वरको दुई वटा प्रहरी टोलीले भैंसीलाई निगरानीमा राख्दै पछ्याइरहेका छन् ।

स्थानीयवासी पनि चिच्याउँदै भैंसी हेर्न जम्मा हुने गरेपछि भैंसी झन् आतंकित भएकोजस्तो देखिन्छ । भैंसी धनी पनि पत्ता नलागेको र धनी पत्ता लागेमा खबर गर्न भनेर वरपरका प्रहरी युनिटहरुमा सर्कुलर गरिएको नयाँबानेश्वरका डिएसपी श्रीवास्तवले जानकारी दिनुभयो । काठमाडौंमा भैंसी र राँगोको आतंक नयाँ भने होइन । यसअघि एउटा भैंसीले २०७१ साल मंसिरमा बुद्धनगरमा रहेको ह्याम्स अस्पतालभित्र प्रवेश गरेर आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको थियो ।

२०७५ फागुनमा काठमाडौं चन्द्रागिरिको मच्छेगाउँमा एउटा राँगोले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको थियो । उक्त राँगोलाई लखेट्दै दहचोक पुर्‍याएर प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी २०७६ असोजमा काठमाडौंको न्युरोडमा र २०७९ साउनमा चन्द्रागिरि नगरपालिकाकै गोदामचौरमा आतंक मच्चाएका राँगाहरुलाई प्रहरीले गोली हानेर मारेको थियो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस