२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनुसन्धान प्रतिवेदन सिआइबीले बुझायो, अब सरकारी वकिलले पूर्व प्रधानमन्त्रीलाई के गर्छ ?

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ। मंगलबार बिहान सिआइबीको टोलीले प्रतिवेदन बुझाएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

ुप्रहरीले आफ्नो काम पूरा गरेर दिएको छ। अबको के गर्ने भन्ने कुरा सरकारी वकिल कार्यालयबाट तय हुनेछ, एसपी अधिकारीले भन्नुभयो । ललिता निवास प्रकरणको संगठित र किर्ते मुद्दामा भएको अनुसन्धान प्रतिवेदन सिआइबीले बुझाएको हो।

उक्त अनुसन्धानमा सिआइबीले सक्कल र नक्कल प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको हो। अब यसमा मिसिल अध्ययन गर्ने र अभियोजनको कार्यबाट काम सुरू हुने सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिनुभयो । सकभर शुक्रबार नभए शनिबार बिदा भएकाले आइतबार जसरी पनि अदालतलाई बुझाउछौं, उहाँले भन्नुभयो ।

त्यसपश्चात अभियोजनको काम सुरू हुने उहाँले जानकारी दिनुभयो । यसअघि आइतबार साँझ सिआइबीले प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो। ललिता निवासको १४२ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा सारेको प्रकरणमा सिआइबीले अनुसन्धान गरेको हो।

गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो। अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट भएका निर्णय र त्‍यस निर्णयमा सहभागीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो। उक्त आदेशसँगै सिआइबीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेको हो।

२०६६ र २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री थिए भने २०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषदले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो। विस्तार गर्दा व्यक्तिका नाममा भएका जग्गा सट्टापट्टा गर्ने निर्णय भएको थियो। त्यही बेला नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा व्यक्तिका नाममा पुर्‍याइएको थियो।

नक्कली मोही हुँदै बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याएको आरोप २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई पनि लागेको हो। माधव नेपाल सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदार थिए भने बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा भूमिसुधार मन्त्री चन्द्रदेव जोशी थिए। दुवै मन्त्रीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

आयोगले नीतिगत निर्णयमा कारबाही गर्ने क्षेत्राधिकार नभएको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाएको थिएन। उनीहरूलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट भने परेको छ। उक्त रिट विचाराधीन अवस्थामै रहेका बेला अदालतले मन्त्रिपरिषदका निर्णय र निर्णय कार्यान्वयन तथा प्रस्तावमा प्रत्यक्ष संलग्नमाथि अनुसन्धान गर्न बाटो खुल्ने गरी आदेश दिएको थियो। ललिता निवासको १४३ रोपनी जग्गा चार चरण गरी व्यक्तिको नाममा पुगेको सिआइबीको अनुशन्धानमा खुलेको छ ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस