२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात शुल्क, नेपालमा असर देखिने

काठमाडौं । भारतीय निर्यात शुल्कका कारण एशियाली बजारमा प्याजको अभाव हुने र माग धान्न नसकेर चीन र पाकिस्तानको प्याजको मूल्य पनि बढ्नेछ। यसको बढी असर बाङ्लादेश, नेपाल, मलेशिया, यूएई, श्रीलंका लगायत मुलुकमा पर्नेछ। भारतले शनिबारबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ। मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा आपूर्ति सुधार गर्न ३१ डिसेम्बर २०२३ सम्म लागू हुने गरी निर्यात शुल्क लगाइएको हो।

भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार भारतमा शनिबार प्याजको खुद्रा मूल्य सरदर ३०.७२ रुपैयाँ भारु कायम थियो। यो भनेको गत वर्षको यही अवधिको भन्दा २०.७५ प्रतिशत बढी हो।

रेटिङ एजेन्सी क्राइसिलको ४ अगस्टको प्रतिवेदन अनुसार अगस्ट अन्तिमसम्म प्याजको मूल्य ६०–७० भारु प्रतिकिलो हुने सम्भावना छ। यस्तै, विज्ञहरूले सेप्टेम्बरमा मूल्य अझै बढ्ने सम्भावना रहेको बताइरहेका छन्। भारतको मुख्य शहरी क्षेत्रमा जुलाई र अगस्टबीचको एक महीनामा मात्रै प्याजको भाउ २० प्रतिशतले उकालो लागेको थियो।

विश्वमै प्याजको ठूलो निर्यातकर्ताले लगाएको निर्यात शुल्कले आन्तरिक बजारमा प्याजको मूल्य घट्नेछ भने अन्य एशियाली मुलुकले भने मूल्यवृद्धिको मार सहनुपर्नेछ। “यो निर्यात शुल्कले पाकिस्तान, चीन वा इजिप्टको भन्दा भारतको प्याजको मूल्य बढाउनेछ। यसले स्वतः निर्यात कम हुनेछ भने आन्तरिक बजारमा मूल्य घट्नेछ,” मुम्बईका एक निर्यातकर्ता अजित शाहले भने।

“गर्मी याममा भित्र्याइएको प्याज द्रुत गतिमा कुहिइरहेको छ। थप आपूर्तिमा ढिलाइ भइरहेको छ। यो अवस्थाले सरकारलाई सावधानी अपनाउन बाध्य गराएको हो,” अर्का निर्यातकर्ताले भने। भारतीय निर्यात शुल्कका कारण एशियाली बजारमा प्याजको अभाव हुने र माग धान्न नसकेर चीन र पाकिस्तानको प्याजको मूल्य पनि बढ्नेछ। यसको बढी असर बाङ्लादेश, नेपाल, मलेशिया, यूएई, श्रीलंका लगायत मुलुकमा पर्नेछ।

सन् २०२३ को अप्रिल-जूनमा भारतले ६५ वटा देशमा प्याज निर्यात गरेको थियो। यो अवधिमा नेपालमा ०.३९ लाख मेट्रिक टन प्याज भारतबाट आयात भएको थियो। गत आर्थिक वर्ष २०७९/८० मा भने नेपालमा भारतबाट ६ अर्ब ८२ करोड नेपाली रुपैयाँको प्याज आयात भएको थियो।

(एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस