२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफूले जन्माएको शिशु अस्पतालमा डाक्टरले लुकाएपछि युवतीले प्रहरी गुहार्दा खुल्यो डरलाग्दो रहस्य !

विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट एक नवजात शिशु गायब पारिएको छ । अविवाहित युवतीबाट जन्मिएको शिशु हराएको घटनामा दुईजना पक्राउ परेका छन् । प्रहरीले अन्दाजी ६८ वर्षीय डाक्टर तपेश्वरलाल कर्ण र बच्चाको बाबु भनिएका पुरुषलाई पक्राउ गरेको हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले ‘दीपेश मेडिकल’ नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।

प्रहरीका अनुसार एक २६ वर्षीय अविवाहित युवतीले सोही अस्पतालमा नवजात शिशु (छोरी) लाई जन्म दिएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले ‘नर्मल डेलिभरी’ मार्फत छोरी जन्माएकी हुन् ।

प्रहरीका अनुसार भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय पुरुष र ती युवती दुईवर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । युवतीको गर्भ बसेपछि प्रेमीले उनलाई विराटनगर लिएर आएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । उनीहरु सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा गएका थिए । उक्त क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै उनले युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको पाइएको छ । वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरिएको थियो ।

बेथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दियो । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् । ‘बच्चाविना नै टेम्पुमा राखेर उहाँले मलाई इटहरी पुर्‍याउनु भयो । बसपार्क छेउको होटेलमा कोठा लिएर राख्नुभयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो । दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नु भन्दै होटेलबाट निस्किनु भयो’, युवतीले भनिन् ।

त्यसपछि प्रेमी फर्केर नआएको उनको भनाइ छ । उनले होटलको नाम पनि आफूलाई थाहा नभएको बताएकी छन् । होटेलमा अलपत्र छाडेर हिँडेका प्रेमी फर्किएर नआएपछि उनी सुनसरीको सोनापुरमा बसिन् । प्रेमीले दिएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको उनी बताउँछिन् ।

‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरूले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । उसले नै बच्चा राख्ने व्यवस्था मिलाए जस्तो लाग्यो’, युवतीले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो ।’ सुत्केरी अवस्थामा प्रेमीले पनि छाडेर हिँडेपछि आफू अलपत्र परेको उनको गुनासो छ । बिहे गर्ने प्रलोभन देखाएर सुत्केरी अवस्थामा अलपत्र पारेर हिँडेको भन्दै उनले अस्पतालसँगको मिलेमतोमा बच्चा गायब बनाएको दाबी गरिन् ।

होटेलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी हुन् । उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । उनले मिलेमतोमा बच्चा गायब बनाइएको भन्दै खोज गर्न माग गरेकी छन् । आफ्नो बच्चा नर्सहरूले लिएर गएको र त्यसपछि आफूले नदेखेको उनी बताउँछिन् । ‘बच्चा जन्मिएपछि नर्सहरूले लिएर गएको थाहा छ, अरू थाहा छैन’, उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइनँ ।’ उनले दुई वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि बताइन् ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस