२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई आकर्षक अफर

NTC

काठमाडौं । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सिडीएमएलगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएमअन्तर्गतको एलटिई प्रविधिमा एकीकृत हुँदै आएको छ । यसकारण विश्वव्यापीरुपमै सिडीएमए सेवाका प्रयोगकर्ता घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ ।

प्रविधिको विकासक्रमअनुसार विश्वव्यापीरुपमा फोरजी–एलटिइको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेकाले नेपाल टेलिकमले प्रदान गरेको सिडीएमए सेवाका ग्राहकसमेत फोरजी÷एलटिइमा आकर्षित हुँदै गएका र कम्पनीले पनि त्यसैअनुसार कभरेज र सेवासमेत विस्तार गरिरहेको छ । पछिल्लो समयमा कम्पनीले सिडीएमए सेवालाई बन्द गर्ने र ती ग्राहकलाई जीएसएममा रुपान्तरण हुँदा आकर्षक प्याकेज उपलब्ध गराउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाल टेलिकमले सिडीएमए फिक्स्ड सर्भिस अर्थात् सि फोन प्रयोगकर्तालाई फोरजी÷एलटिई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । सो प्याकेज आगामी २०८० भदौ १ देखि लागू जनाएको छ । सिडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले टेलिकमको नमस्ते वाइफाइ प्रयोग गर्न सक्नेछन् । ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधासमेत उपलब्ध गराउने भएको छ ।

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिकअन्तर्गत दैनिकरुपमा ५ एमबिपीएस गतिसम्मको १० जिबी डाटा उपलब्ध हुने छ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ५,९९९ र वार्षिक अवधिका लागि रु १०,४९९ शुल्क लाग्ने जनाएको छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ४,९९९ र वार्षिक अवधिका लागि रु। ९,४९९ शुल्क लाग्ने जनाएको छ ।

त्यसैगरी अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिकरुपमा १० एमबिपीएस गतिसम्मको १५ जिबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ८,९९९ र वार्षिक अवधिका लागि रु. १६,४९९ शुल्क लाग्ने छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ७,९९९ र वार्षिक अवधिका लागि रु. १५,४९९ शुल्क लाग्ने जनाएको छ ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटीई सीपीईसमेत उपलब्ध गराइने जनाएको छ । नयाँ जडानअन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्कभित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने जनाएको छ ।

यसरी उपलब्ध हुने १० जिबी वा १५ जिबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि रु। ५० मा २४ घण्टा समयावधिसम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुने जनाइएको छ । नेपाल टेलिकमले पहिलेदेखि नै सिडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’ उपलब्ध गराइरहेको छ । यदि सिडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सिडीएमए माइग्रेसन प्याकेज लिन सकिने टेलिकमले जनाएको छ । यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ ।

त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस