काठमाडौं । लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहँदै आएका नेकपा (एमाले) का नेता भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच कुराकानी भएको छ। अध्यक्ष ओलीसँग कुरा गर्न रावल मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुग्नुभएको छ । ओली र रावलबीच च्यासलमा निक्कै लामो समयसम्म कुराकानी भएको थियो ।
२०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि उहाँहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो। गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट दिनुभएन । एमालेका पूर्वउपाध्यक्ष रावलले एमाले नेतृत्वको आलोचना गर्दै आउनुभएको थियो । गत चैतमा रावलसँग संवाद गर्न उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो। आजको छलफलपछि ओली रावललाई जिम्मेवारी दिन तयार हुनुभएको स्रोतको दावी छ ।