२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधव नेपालसँग सिआईबीले लियो तीन घण्टा बयान, भट्टराईलाई पनि झिकाउँदै

काठमाडौं । ललितानिवास जग्गा हिनामिनासम्बन्धि मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बयान लिएको छ । सोमबार बेलुका सिआइबीमा नेता नेपालसँग तीन घण्टा लामो बयान लिइएको हो ।

यूरोप भ्रमणमा रहनुभएका नेता नेपाल सिआइबीले बयानमा बोलाएपछि भ्रमण छोट्याएर सोमबार बिहान नेपाल फर्किनुभएको हो । सिआइबीले उहाँलाई बेलुका बोलाएर बयान लिएको हो । स्रोतका अनुसार नेता नेपाललाई नै सहज हुने गरी बेलुकाको समयमा बयान लिइएको हो ।

बयानमा नेता नेपालले भौतिक योजना मन्त्रालयबाट आएको प्रस्तावअनुसार असल नियतले बिशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धि नीतिगत निर्णय गरेको स्वीकार गर्नुभएको छ । नेपालसँग विस्तृत बयान भएको सिआइबीका एक अधिकारीले बताउनुभयो । थप आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छाडिएको छ ।

नेता नेपाल २०६६–६७ सालमा प्रधानमन्त्री रहेको बेला बिशिष्ट व्यक्तिको निवास विस्तारका नाममा ललितानिवास परिसरको जग्गा नक्कली मोहीलाई दिएर हिनामिना भएको थियो । सिआइबीले आइतबार पूर्वमुख्यसचिव लिलामणी पौडेलसँग बयान लिएको थियो । त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग मंगलबार बयान हुने सम्भावना छ । भट्टराईलाई पनि सिआइबीले बयानमा झिकाएको छ । उपत्यका बाहिर पार्टीका कार्यक्रममा व्यस्त भएको भन्दै भट्टराईले मंगलबार वा बुधबार उपस्थित हुने जानकारी गराउनुभएको छ ।

ललितानिवासको करिब एक सय ४० रोपनी जग्गा हिनामिनामा सिआइबीले कीर्ते तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा नीतिगत निर्णयमा संलग्नलाई पनि अनुसन्धानको दायरामा ल्याउन गत साता निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्रीहरुसँग पनि बयान लिन थालेको हो ।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस