२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिनावारी हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु

काठमाडौं । महिनावारी भएका वेला गोठमा सुतेकी किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ फ्याउली गाउँकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । स्थानीयका अनुसार महिनावारी भएको चौथो दिन मंगलबार राति उनलाई गोठमा सर्पले पाखुरामा टोकेको थियो । सर्पले टोकेलगत्तै चन्दले चिच्याउँदै छिमेकी काका नाता पर्ने राजबहादुर चन्दलाई जानकारी गराएकी थिइन् । त्यसपछि उपचार गर्न छिमेकी गाउँमा बस्ने देवीराम सार्की र एकजना अर्का व्यक्तिलाई बोलाएर ल्याइयो ।

सार्की घरेलु उपचार गरेर सर्पले टोकेको निको पार्ने ‘वैद्य’ भनेर चिनिन्छन् । ‘२५ मिनेटजतिमा वैद्यलाई ल्याइपु¥याएका थियौँ,’ स्थानीय दीपक बोहराले भन्नुभयो, ‘तर, त्यतिवेलासम्म उनको अवस्था गम्भीर भइसकेको थियो ।’ प्रत्यक्षदर्शीका अनुसार अनिताको उपचार गर्न आएका सार्कीले सर्पले टोकेको घाउलाई ब्लेडले चिरेर ठूलो पार्दै रगत चुसेर निकाल्ने प्रयास गर्नुभयो । तर, किशोरीको होस नफिरेको र सर्पले टोकेको आधा घन्टामै मृत्यु भएको काका राजबहादुर चन्दले बताउनुभयो ।

अनितालाई मंगलबार राति १२ बजेतिर गोठमा सर्पले टोकेको थियो । ‘उनी सुतेको गोठको एकातिर गाई बाँधिएको थियो, अर्कातिर चार–पाँचवटा कुखुरा राखिएको खोर थियो,’ स्थानीय एक महिलाले भन्नुभयो, ‘गोठको भित्ता र कुनातिर जताततै प्वाल थिए, भुइँ उबडखाबड थियो । मलाई त त्यहाँ पस्नै डर लाग्यो ।’

अनिताको घर पञ्चेश्वर गाउँपालिका केन्द्रनजिकै छ । पालिकाछेउमै स्वास्थ्य चौकी छ । तर, उनलाई स्वास्थ्य चौकी लैजानुको सट्टा वैद्यलाई बोलाएर उपचारको प्रयास गरिएको थियो । किशोरीका बुबा र दाइ रोजगारीका लागि भारतमा रहेको र घरमा आमाछोरी मात्र बस्ने गरेको स्थानीयको भनाइ छ । छोरीलाई सर्पले टोक्दा आमा राति मकै खान आउने दुम्सी, बँदेल धपाउन बारीमा जानुभएको थियो ।

अनिताको घरको अवस्था अत्यन्तै नाजुक रहेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले बताउनुभयो । उहाँ जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेको स्थानीय वीरेन्द्र चन्दले जानकारी दिनुभयो । किशोरीको शव बुधबार बिहानै गाउँलेले महाकाली किनारको विनायकघाटमा लगेर गाडिदिएका छन् ।

किशोरीका आफन्तले भने छाउगोठमा नभई घरको माथिल्लो तलामै सर्पले टोकेको दाबी गरेका छन् । घटना सार्वजनिक भएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीलाई उनका आफन्तले किशोरी महिनावारी नभएको र घरको माथिल्लो तलामै सर्प आएर टोकेको सूचना दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले सञ्चारमाध्यममा छाउगोठमा सुत्दा सर्पले टोकेको सूचना आएकाले थप अनुसन्धान भइरहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस