२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरपालिकाको आफैले बनाएको बजेटमा विकास तर्फ ३१ प्रतिशत मात्रै खर्च

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयल बालेन (बालेन्द्र) शाहले कायापलट नै ल्याउने, विकासमा चमत्कार नै गर्ने दावी गर्दै आउनुभएको छ । तर, देशकै सबैभन्दा ठूलो बजेट रहेको काठमाडौं महानगरपालिकाले आफैले बनाएको बजेटको जम्मा ३६ प्रतिशतमात्रै खर्च गर्न सकेको छ । सबै महानगर मध्ये काठमाडौं सबैभन्दा कम गर्नेमा परेको छ । देशभरका अन्य महानगरपालिकाले खर्च गर्ने क्षमता बढाइरहँदा काठमाडौंको विगत वर्षहरुको तुलनामा पनि खस्केको देखिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको काठमाडौंले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गरेको छ । यो ३६ दशमलव ०४ प्रतिशत मात्रै हो, जुन २०७४ मा पहिलोपटक स्थानीय चुनाव भएपछिकै सबैभन्दा कम हो । यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पाँच आर्थिक वर्षको बजेटको औसत खर्च ४३ दशमलव ३७ प्रतिशत थियो ।

महानगरपालिकाले सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख विनियोजन गरेकोमा ४४ करोड ३५ लाख मात्रै खर्च गरेको हो । यो खर्च १० प्रतिशत मात्रै हो । सामाजिक विकासका क्षेत्रको बजेटमा १ अर्ब ६२ करोड २८ लाख छुट्याएकोमा २ अर्ब ४५ करोड २८ लाख खर्च गरेको छ । यो शीर्षकमा लक्ष्य भन्दा धेरै खर्च गरेको हो । बजेट छुट्याएको पूर्वाधार विकासमा क्षेत्रमा भने खर्च निराशाजनक छ । पूर्वाधारका क्षेत्रमा गत आवमा ११ अर्ब ८ करोड ८९ लाखमा विनियोजन भएकोमा जम्मा ३ अर्ब ७२ करोड मात्रै खर्च गरेको छ । ३यो ३१ प्रतिशत मात्रै हो ।

महानगरले कार्यालय सञ्चालन र प्रशासनिक ४ अर्ब ६८ करोड ९८ लाख विनियोजन भएकोमा २ अर्ब ४९ करोड ५३ लाख खर्च गरेको छ । महानगरले आर्थिक विकासको क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरेकोमा आर्थिक वर्षका अन्त्यसम्म ४ करोड ७३ लाख मात्रै खर्च गरेको छ ।

काठमाडौं महानगरले आन्तरिक राजस्वमा लक्ष्यभन्दा ९७ करोड धेरै रकम उठाएको छ । राजस्व विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजस्वमा राखिएको ४ अर्ब ८५ करोड १० लाख लक्ष्य राखेका ५ अर्ब ८२ करोड २७ लाख रुपैयाँ उठाउन सफल भएको हो, जुन अघिल्लो आर्थिक वर्षको भन्दा १ अर्ब ३६ करोड धेरै हो । महानगरले अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय २२ प्रतिशत राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्वमा उल्लेख्य वृद्धि भए पनि राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणबाट महानगरले अघिल्लो वर्षभन्दा कम स्रोत प्राप्त गरेको छ । राजस्व बाँटफाँटबाट आउने रकम ३ अर्ब ४१ करोड ३७ लाख लक्ष्य राखेकोमा १ अर्ब ८५ करोड ९१ लाख मात्रै महानगरमा आएको हो । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १ अर्ब ६९ करोडले कमी हो । आर्थिक वर्ष २०७८र०७९ मा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ राजस्व बाँडफाँट शीर्षकमा आएको थियो । यस्तै संघीय र प्रदेश सरकारबाट पाउने अनुदान पनि घटेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा यो शीर्षकमा २ अर्ब ५९ करोड ११ लाख रुपैयाँ प्राप्त भएकोमा गत आव ०७९/८० मा २ अर्ब ५६ करोड ६९ लाख मात्रै प्राप्त भएको महानगरले जनाएको छ । यो अघिल्लो आवको तुलनामा २ करोड १२ लाखले कम हो । महानगरपालिकाले आन्तरिक राजस्व, बाँडफाँटबाट आउने राजस्व र माथिल्ला सरकारबाट प्राप्त हुने अनुदान गरी गत आवमा १० अर्ब ४१ करोड ९५ लाख लक्ष्य राखेकोमा १० अर्ब २५ करोड ४१ लाख अर्थात् लक्ष्यको ९८ प्रतिशत जम्मा गर्न सकेको हो ।

 

 

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस