२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार अदालतले पक्राउ परेका १७ जनाको म्याद मिलान गर्दै ७ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनुभयो ।

‘यसअघि नै उच्च अदालत पाटनले म्याद दिएको थियो। त्यसलाई जिल्लामा सारेर मिलान गरिएको छ। ७ दिनको म्याद मिलान भएको छ,’ उहाँले भन्नुभयो । भन्सार ऐन अन्तर्गत अवैध सुन पैठारी तथा संगठित अपराधमा म्याद थप भएको उहाँले बताउनुभयो । यस कसुरअनुसार प्रहरीसँग अनुसन्धान गर्ने समय ६० दिन हुन्छ।

तर राजश्व अनुसन्धान विभागले यस प्रकरणमा २० दिन अनुसन्धान गरेको हुँदा प्रहरीसँग ४० दिनमात्रै बाँकी छ। विभागले यसअघि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको थियो। तर अनुसन्धानको क्रममा संगठित अपराध र अन्तर्देशीय अपराध समेत देखिएको भन्दै प्रहरीलाई दिइएको हो।

विभागले अनुसन्धानको मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई आइतबार सिआइबीमा बुझाएको थियो। अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी सन्जयसिंह थापा नेतृत्वको टिमले यसको अनुसन्धान गरिरहेको छ। विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट छुटेको सामानबाट अन्दाजी १०० किलो सुन बरामद गरेको थियो। हङकङको क्याथे प्यासिफिक एयरबाट भित्रिएको ब्रेकशुमा लुकाइएको अवस्थामा सुन बरामद भएको थियो।

सुन बरामद भएयता विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये भन्सार एजेन्ट रूक्मिनी सुब्बा हाजिर जमानीमा छुटेका छन्। अहिले सिआइबीको हिरासतमा १७ जना छन्। पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि सिआइबीको हिरासतमा छन्।

त्‍यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ र राजन श्रेष्ठ पक्राउ परेका छन्। ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।

 

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस