२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

न्यूरोड घटना : आठौँ तलाबाट हामफालेका व्यापारीको मोबाइल परीक्षण गरिँदै

काठमाडौं । व्यापारी संजय गुप्ताले आफ्नै घरको छतबाट हामफालेर ज्यान गुमाए । साउन १६ मा उनी न्यूरोडस्थित घरको आठौँ तलाबाट हामफालेका थिए । ५५ वर्षीय गुप्ता कपडा व्यापारी हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर–२५, मासागल्लीस्थित घरमा उनले कपडा व्यापार गर्दै आएका थिए । घरको केही भाग आफूले प्रयोग गरेर अधिकांश तला उनले भाडामा लगाएका छन् ।

परिवारसँग गैरीधारास्थित अर्को घरमा बस्ने गुप्ता त्यसदिन मध्याह्न एक्लै मासागल्लीमा पुगे । केहीबेर तल र माथि गरेपछि उनी एक्कासी छतबाट खसेको प्रत्यक्षदर्शीहरु बताउँछन् । उनले जुत्ता फुकालेर हामफालेका थिए । आठौँ तलाबाट खस्दा घर अगाडि मूर्तिको सुरक्षामा लगाएको फलामे बार भाँचिएको छ । संजयले किन मृत्यु रोजे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको कारण पत्ता लगाउन प्रहरीले संजयको मोबाइल परीक्षणका लागि डिजीटल फरेन्सिक ल्याबमा पठाएको छ । गुप्ताको मोबाइल परीक्षण गर्न प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्यावमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बताए । उनले भने, ‘मोबाइल परीक्षण रिपोर्टका आधारमा थप अनुसन्धान गर्छौं ।’

परिवारले प्रहरी वृत्त जनसेवामा घटना अनुसन्धान गरिदिन आग्रह गरेर जाहेरी दिएका छन् । पोष्टमार्टमपछि उनको शव परिवारले बुझेका छन् । मृतक आफ्ना बुबा, आमा, पत्नी र ११ वर्षीय छोरासँग बस्दै आएका थिए । गुप्ताले आत्महत्या रोज्नुको ‘आर्थिक पाटो’मा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी वृत्त जनसेवाका एकजना अधिकृत भन्छन्, ‘आर्थिक कोणबाट पनि अनुसन्धान गरिरहेका छौँ ।’ आर्थिक व्यवहारको कारण उनी आत्महत्या गर्ने अवस्थामा पुगेका त हैनन् भन्नेबारे आम चासो छ । न्यूरोडका ब्यापारीहरुले पनि त्यसबारे आशंका गरेका छन् ।

 

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस