२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेले चितवनमा निशुल्क यात्रा गर्न पाउने ब्लू बस सञ्चालन गरे

चितवन । चितवन क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गर्नुभएको छ । क्षेत्र नं. २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका कार्यक्रम घोषणा गर्नुभएको हो ।

निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उहाँले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिृकत जस्ता विषयले निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरि सार्वजनिक भएको भने देखिन्छ । ३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिइएको सांसद रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो । सो बसमा महिलाहरु मात्रै चढ्न पाउने छन् र उनीहरुले बसको भाडा तिर्नुपदैन ।

भाडामा चल्ने बसको पुरानो स्वरुपको रंगलाई बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह निलो रंग लगाइएको छ । स्वकीय सचिव सिग्देलका अनुसार हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गेरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुर आउने छ । भरतपुरको वाइपास रोड, सरकारी अस्पताल, चौविसकोठी पूल्चोक, पोखरा बसपार्क, देवघाट, ठिमुरा रामनगर, पोखरा बसपार्क, पूल्चोक शिवघाट, धर्मचोक चौविसकोठी, अस्पताल रोड, हाकिमचोक बसपार्क लगायतका क्षेत्रमा घुमिरहने स्वकीय सचिव सिग्देलले जानकारी दिनुभयो ।

बस रातिमा वास बस्न शक्तिखोर नै जानेछ । बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड दिइने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५ सय र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने स्वकीय सचिव सिग्देलले बताउनुभयो ।

बस भित्र आफ्ना गुनासा तथा सुझावहरु राख्न सुझाव पेटिका, सेनिटरी प्याड लगायतका सामग्रीहरु राखिनेछ । बसका सिट कभर घण्टी चिन्हसहितको निलो कपडाले बेरिएका छन् । बस भित्र रवि लामिछानेले गरेको अपिल बजिरहने व्यवस्था मिलाइएको छ । अहिले हाल एउटा मात्रै बस चलाएर परीक्षण गर्ने र पछि आवश्यकता अनुसार बसहरु थप्दै लैजाने योजना रहेको सांसद लामिछानेले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस