२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी नेताहरुको सम्पत्ति छानबिन गर्न केन्द्रीय सदस्यहरुको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको छ। प्रज्ञा भवन कमलादीमा बसेको बैठकको उद्घाटनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरूद्ध कठोर रहेको बताउनुभएको थियो ।

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरिसकेपछि बोल्ने समय पाएका केन्द्रीय सदस्यहरुले माओवादीकै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । बुधबार अपरान्हसम्म बैठकमा सहभागी ३८५ केन्द्रीय सदस्यमध्ये २० जनाले बोलिसक्नुभएको छ । जसमध्ये अधिकांशले पार्टी नेतृत्व भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै सबै नेताहरुको सम्पत्ति खोज्नुपर्ने कुरा उठाउनुभएको छ ।

सरकारसहित विभिन्न सार्वजनिक लाभका पदमा अवसर पाएका नेताहरु पुँजीवादी जस्ता भएकाले उहाँहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग केन्द्रीय सदस्यहरुले राख्नुभएको छ । बैठकको सुरुमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले माओवादी पार्टी, पार्टी जस्तो नभएको बताउँदै अब व्यापक सुदृढीकरण अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो नेतृत्वमा सरकार आइसकेपछि सुशासनको पक्षमा कठोर कदम चालिरहेको पनि बताउनुभएको थियो । भ्रष्टाचारविरोधी अभियान नरोकिने कुरा प्रचण्डले राखेपछि केन्द्रीय सदस्यहरुले पनि पार्टीबाटै शुद्धीकरण अभियान थाल्नुपर्नेमा जोड दिनुभएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस