२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सामान्य विवादमा आफन्तले अरु तीन जनाको सहयोगमा मारेर थाहै नपाउनेगरी जंगलमा लुकाए

धनगढी । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेको जानकारी दिनुभयो । प्रहरीका अनुसार मृतक मञ्चु र गोमा नातेदार हुन् । उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुलेको डीएसपी चन्दले बताउनुभयो ।

मृतक रावलका छोरा विवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरीया जान्छु भनी हिँडेकी आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाँऊ भनी असार १ गते प्रहरीमा निवेदन दिनुभएको थियो । अनुसन्धानका क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो । साउन १४ गते प्रतिवादी सरिता रावलले मन्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका–५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो ।

उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रंगको कुर्ता सुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस