२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता छ जेल जान तयार हुनुपर्छ : वर्षमान

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुनेमा जोड दिनुभएको हो ।

सरकारको भ्रष्टाचार विरोधी अभियान सही रहेको भन्दै उहाँले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको बताउनुभयो । साथसाथै, उपमहासचिव पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ ।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको उहाँको टिप्पणी थियो । आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिनुभयो । ‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ नेता पुनले भन्नुभएको छ, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’

सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै उहाँले सत्यतथ्य छानबिनको माग गर्नुभयो । उहाँले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताउनुभयो । त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गर्नुभयो ।

‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भन्नुभयो, ‘हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ । जेल जान तयार हुनुपर्छ ।’ पुनले यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुनेमा जोड दिनुभयो । ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उहाँले भन्नुभयो, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ ।’ पुनले पार्टीबाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सहृय नहुने बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस