२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी हुनुभएको छ । अन्य दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित हुनुभएको हो ।

संघको मुख्य पदमा पोखरेलकै टिमले बाजी मारेको छ । संघको महासचिवमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर निर्वाचित हुनुभएको छ ।

महासचिव र सचिव दुवै पोखरेल प्यानलबाटै निर्वाचित हुनुभएको छ । संघको कोषाध्यक्षमा अर्जुन गौतम र सह कोषाध्यक्षम रोजी पन्त निर्वाचित हुनुभएको छ । उहाँहरू पनि पोखरेलकै प्यानलबाट चुनावमा उठ्नुभएको थियो ।

एक दशक देखि एनाअरएनएमा आबद्ध हुनुभएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेलले बताउँदै आउनुभएको छ ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उहाँकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । त्यसबाहेक कोषाध्यक्षका रूपमा उहाँले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न समेत सफल हुनुभएको थियो । एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उहाँले विशेष जोड दिँदै आउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस