२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धार्मिक एकता र सद्भावको पर्व मोहर्रम आज सम्पन्न हुँदैछ

नेपालगञ्ज । मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व १० दिनसम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न गरिँदैछ । बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताको रूपमा मोहर्रम पर्व मनाइँदै छ ।

१० दिनसम्म चल्ने मोहर्रम पर्वको अन्तिम दिन शनिबार बेलुका ताजिया विसर्जन गरेपछि यो पर्व पूर्णरुपमा सम्पन्न हुनेछ । ताजिया विसर्जनको तयारीमा अहिले ताजिया राख्नेहरू जुटेका छन् ।

मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव मोहम्मद हारुनले बाजागाजाको जुलुससहित स्थानीय करबलामा पुगेर ताजिया विसर्जन गरिने बताउनुभयो ।

उहाँका अनुसार शनिबार बिहानैबाट मुस्लिम समुदायका घरहरूमा ताजिया विसर्जनको तयारी चलिरहेको छ । बेलुकासम्म सबैले ताजिया विसर्जन गरिसक्नेछन् ।

मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईका अनुसार यसअघि मोहर्रमको नवौँ दिन शुक्रबार राति ताजिया घरघरमा राखेर झिलिमिली पारी बजारलाई नै सिङारिएको थियो । रातभरी स्थानीयले जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए ।

उहाँका अनुसार सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर ताजिया र सहरको झिलिमिली अवलोकन गरेका थिए । कोभिड १९ का कारण गत केही वर्षदेखि राम्ररी मनाउन नसकेको यो पर्वलाई यस वर्ष निकै धूमधामका साथ मनाइएको छ ।

इराकको कर्बलामा शहीद हुनु भएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरूले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

उनीहरूकै शहादतको सम्झनामा अरबी क्यालेन्डर अनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।

कागज र काठबाट बनाइएका ताजियालाई ९ तारिखमा आ–आफ्नो घर अगाडि स्थापित गरेर रातभरी जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पुरा भएपछि ताजिया राख्ने गरिन्छ । मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्व धार्मिक सद्भावको पर्वका रूपमा स्थापित भइसकेको छ ।

 

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस