२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इटाली भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण सम्पन्न गरी आज शुक्रवार स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले ‘फुड सिस्टम समिट’ लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएको थियो । त्यस क्रममा उहाँले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई पनि सम्बोधन गर्नुभएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको थियो ।

यस्तै प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकनबीच भेटवार्ता भएको थियो । उहाँसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गर्नुभएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो । भ्रमणका क्रममा उहाँले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा उहाँका स्वकीय सचिव एवम् छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवम् सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस