२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गगन थापाको प्रतिवेदनमा आरजुको टिप्पणीः एनजीओको जस्ते प्रतिवेदनले पार्टी चल्दैन

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनलाई एनजीओको कार्यपत्रको संज्ञा दिनुभएको छ । यस्तो प्रतिवेदनले पार्टी चल्न नसक्ने उहाँको भनाई छ ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्ने क्रममा राणाले महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदन कुनै एनजीओ–आइएनजीओको प्रतिपद्धता पत्र वा कार्यपत्र जस्तै रहेको टिपणी गर्नुभयो ।

‘कांग्रेस देशको एजेण्ड सेट गर्ने पार्टी हो। कांग्रेसले देशको राजनीति कस्तो हुने ? अर्थतन्त्र कस्तो हुनेदेखि समाज कस्तो हुने जस्ता कुराहरु देखाउनु पर्छ। तर महामन्त्रीले पेश गरेको प्रतिवेदन हेरेर म अचम्मित भएँ’, उहाँले भन्नुभयो, ‘प्रतिवेदनमा त्यस्तो दीर्घकालिन प्रभाव पार्ने र पार्टी हाँक्ने कुनै विषय भेटिनँ। यो त एनजीओको कार्यपत्र जस्तो भयो, धेरै कुरा भन्ने तर काम केही नहुने। कार्यक्रमको उपलब्धि के हो ? कार्यक्रम थोरै राखौँ तर त्यसलाई पूरा गरौँ।’

आरजुले पार्टीका नेताहरु मन्त्री तँछाडमछाड गर्ने तर मन्त्रालयको काम कसरी हुन्छ भन्ने नबुझ्ने रहेको पनि बताउनुभयो । ‘काम कसरी गर्ने भन्ने कुरा बाहिर बस्दा पनि सिक्नु पर्ने हो। घोषणा पत्रसँग सरकारको सम्बन्ध पनि देखिँदैन’, उहाँले भन्नुभयो, ‘पार्टी सदस्यको नम्बर बढाएर केही हुँदैन। बरु वरिन्टेसन कार्यक्रम पनि गरौँ।’

उहाँले आफ्नो पार्टीलाई खुला रुपमा आलोचना गर्ने काम छोड्नुपर्ने बताउँदै डराएर बस्नेहरु मैदान छोडेर जाँदा हुने बताउनुभयो । आरजुले समानुपातिकाबाट आएका महिलाहरुले ओगटे भन्ने आरोपको प्रतिवाद गर्दै प्रत्यक्षको टिकट दिएर देखाउन पनि चुनौती दिनुभयो । प्रत्यक्षको टिकट दिन कन्जुस्याइँ नगरेर आफूहरु चुनाव लड्न तयार रहेको उहाँको भनाइ थियो।

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस