२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सय किलो सुन तस्करी प्रकरण : सुराकीले मात्रै पाउँछन् राज्यबाटै १० करोड बढी रकम !

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब एक अर्ब बराबरको झण्डै सय किलो सुन बरामद गर्दा सुन तस्करी भएको सूचना दिने सुराकीले मात्रै १० करोड रुपैयाँभन्दा बढी पाउने भएका छन् । बरामद सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबरको भए सुराकीले १० करोड रुपैयाँ पाउँछन्।

यदि उक्त सुनको मूल्य १ अर्ब रुपैयाँभन्दा बढी भएको अवस्थामा सुराकी रकम पनि थप हुन्छ। यसअघिसम्म जति सामान बरामद भए पनि १० लाख रुपैयाँभन्दा बढी सुराकी वापत रकम नपाउने व्यवस्था थियो। तर चालु आर्थिक वर्ष २०८०–०८१ को बजेटमार्फत १० लाखको दायरा हटाउँदै जति बरामद हुन्छ त्यसको १० प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको थियो। जसकारण अहिले बरामद भएको सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबर भएको अवस्थामा सुराकीले १० करोड रुपैयाँ पाउने भएका छन्।

उक्त रकमको लोभले नै सुराकीले राजश्व अनुसन्धान विभागलाई सूचना दिएकाले सुन बरामद भएको हो। स्रोत भन्छ, ‘१० लाख रुपैयाँभन्दा बढी सुराकी रकम नपाउने भएको भए सायद उक्त सूचना राजश्वमा पुग्दैन थियो। तर १० लाखसम्मको दायरालाई हटाएर जति बरामद हुन्छ त्यसको १० प्रतिशतसम्म सुराकी वापत पाउने भएपछि त्यसमै लोभिएर सूचना विभागलाई पुगेका हो।’

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिएको ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् (डिस्क ब्रेक सु) भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।

विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो। जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।

यो प्रकरणमा अहिलेसम्म दोलखा मेलुङ गाउँपालिका– ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारतको पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ पक्राउ परेका छन्।

पक्राउ परेकाहरु सबै सुन ओसार–पसारमा संलग्न व्यक्ति रहेको पाइएको विभाग स्रोतले जानकारी दिएको छ। सुनको गुणस्तर र परिणामका बारेमा यकिन गर्न राष्ट्र बैंक लैजाने तयारी भएको छ। त्यसपछि मात्रै सुनबारे यकिन विवरण आउने बताइएको छ।

 

 

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस