२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दक्षिण कोरियामा बाढीले डुबेको सुरुङ मार्गभित्र १३ जनाको शव

बीबीसी न्यूज । मध्य दक्षिण कोरियाको चियोङ्जु सहरमा बाढीले गर्दा डुबानमा परेको सुरुङ मार्गमा फसेका यात्रुसम्म पुग्न खटिएका उद्धारकर्मीहरूले १३ जना मानिसको शव फेला पारेका छन्। शनिवार राति नदीमा आएको बाढी सुरुङमा पसेपछि निजी सवारी साधन र बसमा यात्रा गरिरहेका यात्रुहरू त्यहीँ फसेका थिए।

सुरुङ ६८५ मिटर लामो छ। त्यसमा कति जना फसेका थिए भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन्। गत सातादेखि परिरहेको मुसलधारे वर्षाका कारण कम्तीमा ३९ जनाले ज्यान गुमाइसकेका छन्।

अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती भएको छ। अधिकारीहरूका अनुसार सोमवार बिहानसम्म बाढीमा परी कम्तीमा नौ जना बेपत्ता छन्। बाढी प्रभावित सुरुङमा धेरै शवहरू बसभित्रबाट फेला परेका हुन्। त्यहाँबाट शनिवार थप नौ जनाको जीवितै उद्धार गरिएको थियो। स्थानीय प्रशासनले समयमै प्रभावकारी कदम चालिदिएको भए क्षति रोक्न सकिन्थ्यो भन्ने बाढी पीडितका परिवारहरूको भनाइ छ।

केही स्थानीय सञ्चारमाध्यमका अनुसार बाढी नियन्त्रण कार्यालयले केही घण्टा अगाडि पानीको सतह बढेको र स्थिति जोखिमपूर्ण भएको भन्दै चेतावनी जारी गरेको थियो। त्यसैले सुरुङ क्षेत्र आसपासका यातायातको दिशा मोड्नुपर्थ्यो। त्यहाँबाहेक अधिकांश मृत्यु उत्तरी ग्योङसाङको पहाडी क्षेत्रमा भएको जनाइएको छ, जहाँ पहिरोले घरहरू बगाएको छ।

दक्षिण कोरियामा शनिवार करिब तीन सय मिलिमिटर वर्षा भएको जनाइएको छ। कोरियाको मौसम सम्बन्धी निकायका अनुसार त्यहाँ सामान्यतया एक वर्षमा एक हजार मिलिमिटरदेखि एक हजार ८०० मिलिमिटरसम्म वर्षा हुन्छ। आकाशबाट कैद गरिएका बाढी प्रभावित क्षेत्रका तस्बिरहरूमा हिलो र बाढीको पानी उच्च तहमा पुगेको देख्न सकिन्छ जसमा घरको छानोका टुप्पोहरू मात्र बाहिर निस्किएका देखिन्छन्।

विभिन्न स्थानीय सरकारहरूले जारी गरेको स्थानान्तरणको निर्देशनका कारण हजारौँ मानिस प्रभावित भएका छन्। प्रधानमन्त्री हान डक-सूले सेनालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन्। स्थानीय समयअनुसार शनिवार बिहानै उत्तरी चुङच्योङमा रहेको गोसान बाँधमा पानी पस्न थालेपछि करिब छ हजार ४०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। बाँध वरपरका केही गाउँ तथा ती गाउँहरूलाई जोड्ने सडकहरू डुबानमा परेका छन्। ती गाउँका मानिस घरभित्रै फसेका छन्। शुक्रवार राति उत्तरी चुङच्योङमा पहिरो जाँदा एउटा रेल दुर्घटना भएको थियो। रेलमा यात्रु थिएनन्, यद्यपि घटनामा एक इन्जिनियर घाइते भएका थिए।

देशको राष्ट्रिय रेल सञ्चालन गर्ने कोरेलले त्यहाँका सबै सुस्त गतिका र केही द्रुत गतिका रेल सेवा स्थगित गर्ने घोषणा गरेको छ। द कोरिया मेटेरोलजिकल एड्मिनिस्ट्रेसनले आगामी साताको बुधवारसम्म वर्षा जारी रहने अनुमान गरेको छ। उक्त निकायले मौसमी अवस्थाले “गम्भीर” खतरा निम्त्याएको चेतावनी दिएको छ। अत्यधिक वर्षाका कारण भारत, चीन र जापानलगायत विभिन्न देश पछिल्लो एक सातायता बाढी र पहिरोबाट आक्रान्त छन्। बाढी आउनुका अन्य धेरै कारणहरू भए पनि वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण वायुमण्डल तात्नुले अत्यधिक वर्षाको सम्भावना बढाउँछ। वायुमण्डल जति तात्यो त्यति नै आर्द्रता बढ्छ र फलस्वरूप अधिक भारी वर्षा हुन्छ। कहिलेकाहीँ छोटो समयको अन्तरालमा र सीमित क्षेत्रमा यसको प्रभाव रहन्छ। सोलबाट बीबीसी संवाददाता युना कुको थप रिपोर्टिङ का साथ

 

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस