२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल सदस्य नै नभएको जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन डा. महत भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत भारत प्रस्थान गरेका छन्। जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा सहभागी हुन अर्थमन्त्री डा. महत आइतबार बिहान भारत प्रस्थान गर्नुभएको छ ।

अर्थमन्त्रीसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भारत जानुभएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि बैठक सुरू हुनेछ। भ्रमण सकेर अर्थमन्त्री महत बुधबार नेपाल फर्किने तय भएको छ ।

नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनुहुनेछ । जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

त्यस्तै,सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण,सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइने बताइएको छ। बैठकको अध्यक्षता भारतीय वित्तमन्त्री निर्मला सीतारमण र रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा. शक्तिकान्त दासले संयुक्तरुपमा गर्ने तय भएको छ ।

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस