२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनाङमा पनि लम्पी स्किन भेटियो, देशका ७७ वटै जिल्लामा रोग फैलियो

मनाङ । हिमाली जिल्ला मनाङमा पनि लम्पी स्किन अर्थात् गाईबस्तुको ९छालामा हुने गिर्खे रोग० भेटिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको भेटिएको जानकारी दिनुभयो ।

किसानले गोरु बिरामी भएको खबर गरेपछि अस्ति मङ्गलवार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो ।

मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको पनि पशु चिकित्सक नारायण कुसुमले जानकारी दिनुभयो । अस्तिदेखि चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन शुरु गरिएको हो । केही दिनपछि नासो गाउँपालिकामा पनि खोप लगाउन शुरु गर्ने उहाँले बताउनुभयो । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताउनुभयो ।

मनाङमा पनि लम्पी स्किन देखिएपछि देशका ७७ वटै जिल्ला यो रोग फैलिएको पुष्टि भएको छ । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।

ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा।रामनन्दन तिवारीको आग्रह छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशु चौपायामा यो रोग देखिएको छ ।

सङ्क्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ । समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ ।

लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको र राहतको मागसहित किसानले आन्दोलन थालेका छन् । गाईबस्तु मरेर अर्बौँ रुपैयाँको नोक्सानी हुँदा समेत राहतका कुनै कार्यक्रम नआउँदा किसान मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस