२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाँचथरमा फेरि बाढी, मेची राजमार्ग अवरुद्ध

फिदिम । निरन्तरको वर्षका कारण खोला नालामा बाढी आएपछि मेची राजमार्ग र तमोर कोरिडोरसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सोमबार राति परेको वर्षाका कारण हेवा र तमोर खोलामा बाढी आउँदा मेची राजमार्ग अन्तरगत फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको हो।

यस्तै तमोर कोरिडोर अन्तरगत नावा खोलामा आएको बाढीका कारण एउटा टिपर खोला भित्रै फसिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। धनकुटा र पाँचथरलाई जोड्ने उक्त खोलाको बाढीका कारण तमोर कोरिडोर भएर पाँचथर चल्ने यातायातका साधन ठप्प भएका छन्।

जिल्लाका सहायक सडकमा पनि बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तमोर कोरिडोरका साना ठुला खोला र खोल्सामा आएको बाढीले सडक खण्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताउनुभयो। निरन्तरको वर्षाका कारण असार ३ गते यता मेची राजमार्गसहित विभिन्न सहायक सडकमा आवागमन प्रभावित हुँदै आएको छ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस