काठमाडौं । नेपालमा ९ प्रतिशत गर्भ आफैं खेर जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्षका महिलाको ९ प्रतिशत गर्भ आफैं खेर जाने देखिएको हो ।
८० प्रतिशत शिशु जीवित जन्मिएका र २० प्रतिशतको गर्भ खेर जाने गरेको सर्वेक्षणले देखाएको छ । गर्भ खेर गएको मध्ये १० प्रतिशतले गर्भपतन गराएको र ९ प्रतिशतको आफैं खेर गएको र १ प्रतिशतको मृत बच्चा जन्मिछन् ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृर्तिपाल सुवेदीका अनुसार आफैं गर्भ खेर जाने अधिंकाश किशोरीवस्थाका हुन्छन् । ‘आमाको कम उमेर हुने बित्तिकै गर्भ आफैं खेर जाने हुन्छन् । बच्चा जन्माउनका लागि पाठेघर नै सक्षम भएको हुँदैन,’ डा. सुवेदी भन्छन्, ‘बच्चा बसेपछि पाठेघरको बनावोट बढ्दै बढ्दै जानुपर्ने हो । त्यस अनुसार बढ्दैन । जसका कारण आफैं गर्भ खेर जान्छ ।’
उनका अनुसार गर्भ रहनका लागि आमालाई चाहिने हर्मोन प्रशस्त मात्रामा उपलब्ध हुँदैन । ‘बच्चा जन्माउनका लागि मानसिक वा शारीरिक रुपमा तयारी भएका हुँदैन । किशोरी अवस्थामा गर्भ खेर जाने जुन खालको जोखिम हुन्छ । त्यस उमेरमा आफ्नो शरीरलाई ख्याल राख्न सक्दैन् । आफूलाई भएको समस्या पनि खुलेर परिवारका सदस्यलाई भन्न सक्दैन । जसकारण कलिलो उमेरमै गर्भ खेर जान्छ,’ डा. सुवेदीले भन्नुभयो ।
कलिलो उमेर गर्भबस्दा शरीरमा रगतको अत्याधिक कमी हुने, शरीरबाट रगत धेरै खेर जाने, संक्रमण हुने र लगातार गर्भपतन भएमा पछि बाँझोपनको लगायतका समस्या समेत देखिने हुन्छ । त्यस्तै, सर्वेक्षणले गर्भपतन गराउनको संख्या पनि बढ्दै गएको देखाउँछ । पहिलो गर्भपतन गराउने २ प्रतिशत थिए भने पाँचौं वा त्योभन्दा माथि गर्भावस्थामा २९ प्रतिशतले स्वेच्छाले गर्भपतन गरेका थिए ।
चिकित्सकका अनुसार गर्भपतन गराउनुमा सबैभन्दा मुख्य कारण लिंग परिचाहन हुनु हो । अर्थात, छोरी भएको अवस्थामा अधिंकाश महिलाले गर्भपतन गराउने गर्छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ले बढ्दो शैक्षिक स्तरसँगै नेपालमा प्रजनन् दर पनि समान्यता घट्दै गएको देखाँउछ ।
हाल नेपालमा एक महिलाले औसतमा २.१ बच्चा जन्माउँछन् । सन् १९९६ मा प्रति महिला ४.६ बचाउने जन्माउने गरेकामा सन् २०२२ मा घटेर प्रति महिला २.१ बच्चा जन्माउँछन् । यस्तै, नेपालमा कुनै पनि शिक्षा हासिल नगरेका महिलाले सरदर ३.३ बच्चा जन्माउँछन् । माध्यमिक स्तरभन्दा बढी शिक्षा हासिल गरेका महिलाले सरदर १.६ बच्चा जन्माउछन् ।
साथै, घरपरिवारमा आर्थिक स्तर बढ्दै जाँदा प्रजनन् दर घट्दै गएको छ । सबैभन्दा सम्पन्न १.६ , सम्पन्न १.७ , मध्यम २.१, गरिब २.४, सबैभन्दा गरिब २.८ सरदरमा बच्चा जन्माउँछन् । सवर्नेक्षणले भौगोलिक क्षेत्र अनुसार पनि प्रजनन् दर फरक(फरक रहेको देखाएको छ ।
पहाडी क्षेत्रको तुलनामा हिमाली र तराई क्षेत्रका महिलाले बढी बच्चा जन्माउने गरेका छन् । औसतमा पहाडी क्षेत्रमा एक महिलाले १.८ जन्माउने गरेकामा हिमालीमा ३.३ र तराईमा २.२ जन्माउँछन् । सर्वेक्षण अनुसार औसत मधेश प्रदेशमा सबैभन्दा बढी २.७ बच्चा जन्माउँछन् । यस्तै, कर्णाली प्रदेशमा २.६, सुदूरपश्चिम प्रदेशमा २.३, कोशी प्रदेशमा २.२, लुम्बिनी प्रदेशमा १.९, बागमती प्रदेशमा १.६ र गण्डकी प्रदेशमा १.४ बच्चा जन्माउँछन् ।