२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटकबाट नजिक भई सुन चाेरी गर्ने महिला स्याङ्जामा पक्राउ

स्याङ्जा । भिडियाे शेयरिङ एप टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् ।

सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियाेहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३ बस्ने २४ वर्षीया कुसुम बिसी रहेकाे स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिनुभयो । कुसुमले टिकटकबाट साथी बनाएकाहरूकाे घरमा गई कहाँ के राखेको छ, गोप्य समान कहाँ छन् भन्ने जानकारी लिएपछि चोरी गरी भाग्ने गरेको डीएसपी खनालले बताउनुभयाे ।

वालिङ नगरपालिका–६ एक्ले पिपलमा रहेकाे एक घरमा कुसुमले चोरी गरी भागेको उजुरी परेपछि चोरीको नयाँ तरिका बाहिर आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले टिकटकबाट साथी बनेकाहरूकाे सुन चाेरी गर्ने पोखरामा लगेर पसलमा बेच्ने गरेकी थिइन् ।

पक्राउ परेकी कुसुमको साथबाट आधा तोला बराबरको बेरुवा औँठी एक थान र एक तोला बराबरको करुवा लकेटसहितको सिक्री एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनले कुन ठाउँबाट कति गरगहना चोरी गरिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस