काठमाडौं । एसियन क्रिकेट काउन्सिल एसीसीले सञ्चालन गर्ने एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना हुने भएको छ ।
असार २९ देखि साउन ७ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल टिम समूह बी मा भारत, पाकिस्तान र यूएईसँग परेको जानकारी आएको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले बताए ।
समूह एमा आयोजक श्रीलंकासँगै ओमान, बंगलादेश र अफगानिस्तान छन् । इमर्जिङ् टिम्स एसिया कपमा टेष्ट राष्ट्रका यू–२३ वा ए टिमले खेल्नेछन् ।
गत वैशाखमा नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेका नेपाल, यूएई र ओमानले एसोसएटको प्रतिनिधित्व गरी इमर्जिङ एसिया कप खेल्न पाएका हुन् ।
पाँच टेष्ट टिमले भने आफ्नो ए टिम पठाउनेछन् । नेपाल टिम हाल एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाव्वेमा छ । विश्वकप छनोट सकिएपछि सम्भवतः नेपालको टिम घोषणा हुनेछ । नेपालले सन् २०१६, २०१७ र २०१९ गरी तीनपल्ट इमर्जिङ टिम्स एसिया कप खेलेको छ । सन् २०१९ यता प्रतियोगिता आयोजना भएको छैन ।