२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशभर रोकियो ‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका फिल्म हलमा भारतीय फिल्म चल्न नदिने जनाएसँगै ‘आदिपुरुष’फिल्मका नेपाल वितरक श्री ब्यंकटेस इन्टरटेनमेन्टले देशभर फिल्म रोकेको छ। सोमबार ब्यंकटेसले एक विज्ञप्ति जारी गरेर देशभर फिल्म प्रदर्शन रोक्ने निर्णय भएको जानकारी गराएको हो।

ब्यंकटेसले फिल्मको प्रदर्शनलाई लिएर आएका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ। ‘श्री ब्यंकटेस इन्टरटेनमेन्टको आधिकारिक वितरण भएको हिन्दी फिल्म आदिपुरुष उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रदर्शन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ब्यंकटेसका निर्देशक मनोज राठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले सामाजिक सञ्जाल फेसबुकका स्टाटस पोस्ट गरेको अभिव्यक्तिका आधारमा उपत्यका हल व्यवसायीले शान्तिसुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेका कारण तथा देशका विभिन्न नगरपालिकाका मेयरले पनि बन्दको आदेश दिएका कारण प्रदर्शन बन्द भएको व्यहोरा अवगत गराइन्छ।’

सेन्सर पास भएर शुक्रबारदेखि रिलिजमा आएको ‘आदिपुरुष’फिल्मले विवादका कारण घाटा बेहोर्नुपरेको जनाएका छन्। ‘काठमाडौं र पोखरामा फिल्मको प्रदर्शन रोकिएलगत्तै धरान, इटहरी, जनकपुर, धनगढी र चितवन हुँदै सबैतिर फिल्मको प्रदर्शन स्थगन भइरहेको अवस्थामा हामीले आफैं देशभर प्रदर्शन बन्द गरेका छौं,’फिल्मका वितरक मनोज राठीले भने, ‘सेन्सर पास भइसकेको अवस्थामा सुरुदेखि यो फिल्मले झन्झट बेहोर्नुप¥यो।’

यसअघि काठमाडौं महानगरपालिकाका मेयर शाहले भारतीय फिल्म ‘आदिपुरुष’लाई दिएको तीनदिने अल्टिमेटम सकिँदा समेत फिल्मले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद नहटाएको भन्दै आइतबार महानगरभित्र रहेका फिल्म हलमा नगर प्रहरी परिचालन गरेर भारतीय फिल्म नचलाउन दबाब दिएका थिए। मेयर साहले सञ्चार तथा सूचना मन्त्रालयलाई कूटनीतिक पहल गरी सो फिल्मको आपत्तिजनक दृश्य हटाउन भूमिका खेल्न आग्रह गरेका थिए।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस