काठमाडौं । समयमै बाटो मर्मत गरेकोले यस वर्ष बर्खाको समयमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने भएको छ ।
यसअघि बर्खायाममा काठमाडौंदेखि बञ्चरेडाँडासम्म जाने विभिन्न ठाउँको बाटो बिग्रँदा समस्या हुने गरेको थियो । यस वर्ष भने बाटो मर्मत भइसकेकाले यसअघिको जसरी समस्या नआउने काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिनुभयो । साना समस्या आए पनि यसअघि झैँ एक महिनासम्म फोहर नउठ्ने समस्या नहुने उहाँले बताउनुभयो ।
काठमाडौं महानगरले सिसडोलदेखि बञ्चरेडाँडासम्मको झन्डै दुई किलोमिटर सडक मर्मतको काम गरिसकेको छ । विगत १६ वर्षदेखि उपत्यकाको फोहर व्यवस्थापन गरिएको ठाउँ सिसडोलमा अहिले पनि फोहरको पहाड छ । त्यही फोहर पार गरी फोहरको गाडी बञ्चरेडाँडा जानुपर्ने बाध्यता छ । पानी पर्न थालेपछि सिसडोलको फोहर कुहिने गर्छ, बर्खाको समयमा सिसडोलको फोहरमाथि बनेको सडकमा गाडी फस्ने समस्या थियो । यस वर्ष त्यो समस्या समाधान भएको हो ।
काठमाडौं उपत्यकाका १८ वटा पालिकामा सङ्कलन हुने फोहोर बञ्चरेडाँडामा लगिने गरेको छ । उपत्यकाबाट एक दिनमा झन्डै एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा लगिने गरेको छ ।