काठमाडौं । ट्रक र जीप ठोक्किँदा भयानक दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको हो । अन्य १२ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।
राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो मजदुर परेका सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
बङ्लादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा धेरै छ । खराब सडक र पुराना गाडी तथा चालकले ट्राफिक नियमको उल्लङ्घन गर्नु दुर्घटनाका प्रमुख कारण मानिएको छ ।